साजिर मन्सूर
बारा, कलैया ।
कलैया उपमहानगरपालिकाको समन्वय तथा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) को आयोजनामा आज कलैया उपमहानगरपालिका कार्यालय प्राङ्गणमा सञ्चालन भएको निःशुल्क शारीरिक अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविरमा कुल १०६ जनाले सेवा लिएको महिला बालबालिका शाखा प्रमुख नेहा केशरिले जनाएकि छन्।
शिविरमा सहभागीमध्ये ६४ जना बालक, ३० जना बालिका,५ जना महिला र ७ जना पुरुष रहेका थिए। शिविरमा विभिन्न किसिमका हाडजोर्नी तथा शारीरिक समस्या भएका बिरामीहरूको परीक्षण गरिएको थियो।
शिविरको क्रममा आजै ३ जनालाई ह्वीलचेयर वितरण गरिएको छ भने २ जनालाई ह्वीलचेयरका लागि सिफारिस गरिएको छ। त्यसैगरी, १७ जनालाई थप उपचारका लागि अस्पताल बोलाइएको आयोजकले जनाएको छ।
यस्तै, १ जनालाई वाकर (Walker) वितरण गरिएको छ भने २० जनालाई विभिन्न प्रकारका सहायक उपकरणका लागि सिफारिस गरिएको छ। १०६ जनाले फिजियोथेरापी सेवा लिएका छन् भने ९० जनालाई औषधि वितरण गरिएको जानकारी दिइएको छ।
आयोजकका अनुसार शिविरले स्थानीय स्तरमै निःशुल्क सेवा प्रदान गर्दै शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा उपचारमा महत्वपूर्ण योगदान पुर्याएको छ। यस्ता कार्यक्रम आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने जनाइएको छ। यो शिबिर भोलि शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र कलैया १३ बलिरामपुरमा हुने आयोजकका रमेश पटेलले जनाएका छन ।
१८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न प्रकारका हाड–जोर्नी तथा शारीरिक समस्या भएका बालबालिकाको परीक्षण गरेका थिए। शिविरमा जन्मजात खुट्टा बांगिएको (क्लब फुट), हाडजोर्नी खुकुलो/बाङ्गो भएको, पोलियोपछि देखिएका समस्या, हड्डीको टीबी, जोर्नी दुख्ने तथा सुन्निने लगायतका समस्याहरूको जाँच गरिएको थियो।
शिविरका क्रममा आवश्यक परेका बिरामीहरूलाई थप उपचार, शल्यक्रिया तथा पुनर्स्थापना सेवाका लागि सिफारिस समेत गरिएको आयोजकले जनाएको छ। साथै, कृत्रिम अंग तथा सहायक उपकरण आवश्यक पर्ने व्यक्तिहरूको पहिचान पनि गरिएको थियो।
कलैया उपमहानगरपालिकाका प्रतिनिधिहरूले यस्ता शिविरले स्थानीय स्तरमै सेवा पुग्ने भएकाले आर्थिक रूपमा कमजोर तथा पहुँचबाट टाढा रहेका नागरिकहरूलाई ठूलो राहत मिलेको बताएका छन्।







