मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाकाे ज्यान गएकाे छ । यस अवधिमा चार जना बेपत्ता र ९० जना घाइते भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले याे तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एक गरी नौ जनाको ज्यान गएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच वटा घरमा पूर्णरूपमा क्षति पुगेको छ । ११ वटा घरमा आंशिक क्षति भएको छ ।

पहिराेका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिराेमा परी दुई जना बेपत्ता र ३८ जना घाइते भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पहिराेले ४३ वटा घर पूर्णरूपमा क्षति भएको छ ।

२४ घरमा आंशिक क्षति पुगेको छ । यस्तै १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन् । ११ घर पूर्णरूपमा क्षति हुँदा ट वटा घर आंशिक रूपमा क्षतिग्रस्त छन् ।

बाढी र पहिराेले अहिलेसम्म ८ करोड ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङबाट १९ जनाको ज्यान गएकाे छ भने ३५ जना घाइते भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलले सोमवारदेखि देशभर बाढीको जोखिम कम हुने जानकारी दिनुभयो । गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक हप्तामा देशकाे १ सय १० वटा ठाउँमा पहिरो गएको छ ।

बाढी जस्तै पहिराेको पूर्वसूचनालाई प्रभावकारी बनाउन आवश्यक रहेको भू–गर्भविद् डा. सुबाेध ढकालले बताउनुभयो । उहाँका अनुसार सुकिसकेका कुवा धारामा एक्कासी पानी आउन थाल्यो वा पानी आउने धारा कुवामा पानी सुक्न थाल्यो भने जमिन हलचलको सङ्केत हुनसक्छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर