शिल्पा कुश्वाहा
कलैया,साउन ४
त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । घटनाको ८ औँ दिनसम्म पनि सृष्टि फेला नपरेपछि परिवारले आज शुक्रबार कुशको शव बनाएर उनको दाहसंस्कार गरेका हुन् ।
कलैया उपमहानगरपालिका– १४ जितपुटोलकी सृष्टिका अभिभावकले कुशको शव बनाएर पसाहा खोलाको लक्ष्मीनिया घाटमा दाहसंस्कार गरेका छन् । शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको उनका बुबा जगदीश यादवले बताए । सृष्टि पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा कार्यरत थिइन् । उनी विदेश जानको लागि परीक्षा दिन काठमाडौँ जाँदै गर्दा सो घटनामा परेकी हुन् ।
उनी चढेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस असार २८ गते नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमतालको पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।
दाह सन्स्कारमा पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु यादव,नेकपा समाजबादीका नेता ध्रुब यादव,आदर्श कोत्वाल गाउपालिकाका योजना अधिकृत बलिराम यादव,नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएशन कलैयाका अध्यक्ष बृजकिशोर यादव,बिश्वास एफएम कलैयाका सन्स्थापक अध्यक्ष शन्नी जयस्वाल,राजकुमार यादव लगायत सयौको उपस्थिति रहेको थियो ।







