बिश्वास सम्बादाता
कलैया, ०९ भदौ ।
कलैया उपमहानगरपालिका–६ स्थित ज्ञान सरोबर इङ्ग्लिस स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवम भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीरसँग जनकपुरधामस्थित उनको कार्यकक्षमा भेटघाट गर्दै शिक्षा, सुरक्षा र प्रदेश विकासका विषयमा अन्तरक्रिया गरेका छन्।
अन्तरक्रियाका क्रममा विद्यार्थीले मधेस प्रदेशको शिक्षा क्षेत्रको अवस्था, गुणस्तरीय शिक्षामा पहुँच, छात्राको सुरक्षा तथा ग्रामीण र विपन्न परिवारका विद्यार्थीका समस्याबारे मन्त्री समीरको ध्यानाकर्षण गराएका थिए।
विद्यार्थीहरूले आर्थिक अवस्था कमजोर भएका तथा ग्रामीण क्षेत्रका बालबालिकाले पनि समान रूपमा गुणस्तरीय शिक्षा पाउने वातावरण बनाउन प्रदेश सरकारले शिक्षा क्षेत्रमा थप लगानी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।
यस्तै, छात्राहरूले विद्यालयदेखि सार्वजनिक स्थानसम्म सुरक्षित वातावरण निर्माण गर्नुपर्ने माग राख्दै महिला तथा बालिकामाथि हुने हिंसा, दुर्व्यवहार र असुरक्षाका घटना नियन्त्रणका लागि प्रभावकारी सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका थिए।
विद्यार्थीका प्रश्न र सुझावको जवाफ दिँदै मन्त्री समीरले मधेस प्रदेश सरकार सम्पूर्ण प्रदेशवासीको सुरक्षा, हित र विकासप्रति प्रतिबद्ध रहेको बताए। सरकारको जिम्मेवारी कुनै निश्चित वर्ग वा समुदायमा सीमित नभई सबै प्रदेशवासीको सुरक्षा र अधिकार सुनिश्चित गर्नु रहेको उनको भनाइ थियो।
मन्त्री समीरले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै प्रदेशको समग्र विकासका लागि यी क्षेत्रको सुधार अत्यावश्यक रहेको बताए।
विद्यार्थीहरूले विकास निर्माण, जनसरोकार तथा प्रदेश सरकारका आगामी योजनाबारे समेत जिज्ञासा राखेका थिए। मन्त्री समीरले विद्यार्थीहरूले अध्ययनसँगै समाज र प्रदेशको विकासका विषयमा चासो राख्नु सकारात्मक भएको उल्लेख गर्दै युवापुस्तासँग प्रत्यक्ष संवाद र अन्तरक्रियालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए।
भेटघाटका क्रममा ज्ञान सरोबर इङ्ग्लिस स्कुलका प्रधानाध्यापक श्याम केसरीसहित विद्यार्थीहरूले मन्त्री समीरलाई मायाको चिनो प्रदान गर्दै खादा लगाएर सम्मान गरेका थिए। विद्यालय परिवारले गरेको स्वागत तथा सम्मानप्रति मन्त्री समीरले धन्यवाद व्यक्त गरेका थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर