बिश्वास डेस्क
बारा,भदौ ९
करैयामाई गाउँपालिका–१ मधुवन बजार र वडा नम्बर ६ मा गरी ६ वटा भन्दा बढी घरमा गएराति चोरी भएको खबर प्राप्त भएको छ।
स्थानीय स्रोतका अनुसार चोरी भएका घरहरू रहेको स्थानबाट करिब २ सय मिटरको दूरीमै प्रहरी चौकी रहेको भए पनि चोरीका घटना हुनु गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको छ।
स्थानीयवासीका अनुसार बजार क्षेत्रमा चोरीका घटना भइरहँदा प्रहरीको गस्ती भने मुख्यतः जंगलतर्फ केन्द्रित हुने गरेको गुनासो छ। बजार तथा बस्ती क्षेत्रमा नियमित गस्ती र सुरक्षा निगरानी बढाउन स्थानीयले प्रहरीसँग माग गरेका छन्।
एकैपटक ६ वटा घरमा चोरी भएको घटनाले स्थानीयमा त्रास बढाएको वडा नम्बर १ का अध्यक्ष सोनालाल साहले बताएका छन । साहले वडा नम्बर १ मधुवन सहजौलिका बजारका भुपाल प्रसाद यादवको घरबाट नगद ५ हजार सुनको नथिया १ थान,मनटिका १ थान,पायल १ जोडि चोरी भएको जनाएका छन । त्यस्तै मधुवन बजारकै तिलिया हजामिनको घरबाट नगद १० हजार,गोडाई र जिउतिया २/२ थान चोरी भएको छ । पर्शुराम पास्वानको घरबाट समेत नगद र गरगहना चोरी भएको छ । सतन पास्वानको २ थान मोबाइल लिएर चोरहरु भागेका छन । त्यस्तै ईमरित राय भाट को घरबाट पायल २ थान र मोबाइल लिएर भागेका छन । लक्षमण महरा चमारको घरमा समेत चोरी भएको वडा अध्यक्ष साहले जानकारी गराएका छन । चोरहरु मोताब देवानको घरमा समेत पस्दा हल्ला भएपछी भागेका थिए ।
घटनाबारे प्रहरीले अनुसन्धान तथा चोरीमा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाउनुपर्ने स्थानीयको माग छ।







