विश्वास डेस्क
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–१ निवासी प्रदीप खड्का रहेका छन् ।

प्रदीप पक्राउ परेसँगै गरिमा हत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको सङ्ख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी मीनबहादुर घलेका अनुसार पक्राउ परेकामाथि घटनामा उनीहरूको सम्भावित संलग्नताबारे अनुसन्धान भइरहेको छ ।

गरिमा भदौ २ गते जितपुरसिमरा–१ स्थित एक खाली घरमा मृत अवस्थामा फेला परेकी थिइन् । उनी घरबाट हराएको तीन दिनपछि शव फेला परेको थियो । घटनाको अनुसन्धानका क्रममा बालिकामाथि बलात्कारपछि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका खड्का विद्यार्थी हुन् । घटनामा उनको भूमिका के थियो भन्नेबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका अन्य व्यक्तिहरूसँगको बयान, घटनासँग सम्बन्धित प्रमाण तथा प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

यसअघि घटनामा जितपुरसिमरा–२ निवासी किशोर सुमन थापा र म्याजिक गाडीका धनी प्रोग्रेस चौधरीसहित विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । प्रोग्रेसको घरमा समेत प्रहरीले खानतलासी गरेको थियो । स्थानीयले घटनाको अनुसन्धानमा सुरुवाती चरणमा प्रहरीबाट लापरबाही भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनसमेत गरेका थिए ।

घटनालाई लिएर सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो । सहमतिअनुसार जघन्य अपराधमा विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गर्न सात सदस्यीय समिति गठन गर्ने, गरिमाको सम्झनामा स्मारक निर्माणका लागि पहल गर्ने तथा परिवारलाई आफ्नै संस्कारअनुसार अन्तिम संस्कार गर्न दिने सहमति भएको थियो ।

यसैबिच, घटनामा पक्राउ परेका किशोरसँग बयान लिइएको भनिएको भिडियो तथा स्वास्थ्य परीक्षण र परामर्शका क्रममा खिचिएको अर्को भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अनुसन्धानको गोपनीयता र सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ । सार्वजनिक भएको भिडियोमा किशोरले ‘प्रदीप खड्का’ नाम गरेका व्यक्तिको समेत घटनामा संलग्नता रहेको दाबी गरेको देखिन्छ । यद्यपि उक्त भिडियोको सत्यता, त्यसमा गरिएको दाबी तथा भिडियो कसरी बाहिरियो भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ ।

प्रहरीले भने सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीलाई मात्र आधार बनाएर निष्कर्षमा पुग्नुभन्दा घटनासँग सम्बन्धित सबै प्रमाण र तथ्यको विश्लेषणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रदीप खड्का पक्राउ परेसँगै अनुसन्धान नयाँ चरणमा प्रवेश गरेको छ । अब पक्राउ परेका ९ जनामध्ये कसको कस्तो भूमिका थियो, घटनामा उनीहरूको संलग्नता कुन तहसम्म थियो र घटनाको वास्तविक शृङ्खला के थियो भन्ने विषय प्रहरी अनुसन्धानको मुख्य केन्द्रमा रहने देखिएको छ । प्रहरीले अनुसन्धान पूरा भएपछि घटनाको वास्तविकता थप स्पष्ट हुने जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर