
युनिक यादव ,कलैया ।आज साउन १ गते अर्थात साउने संक्रान्ति । सूर्यले कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।
माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व सुरु हुने गर्छ ।
साउन महिनालाई विशेषरुपमा भगवान शिवको पूजा गरेर मनाइन्छ । साउन महिनाभर देशभरका शिवालयहरुमा विशेष भीड हुन्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन ।
हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन छ । कारोवार गर्नेहरूले पनि साउन १ गतेलाई विशेष दिन मान्छन नेपालको आर्थिक वर्ष यसै दिन सुरु हुन्छ ।