बिश्वास डेस्क
पर्सा, जेठ २५
पर्साको बिरगंज महानगरपालिका वडा नम्बर २६ सुगौली स्थित श्री ने.रा.आ.वि.मा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण–२ अन्तर्गत सार्वजनिक सुनुवाइ तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।
टेवा धापाखेल ललितपुरको सहयोग एवम ग्रामीण उत्थान अभियान बाराद्वारा आयोजित कार्यक्रममा समुदायस्तरमा महिला अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय तथा सामुदायिक सुरक्षा जालोलाई प्रभावकारी बनाउने विषयमा छलफल सम्बाद सहित सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ। सुनुवाईका क्रममा वडा अध्यक्ष, स्थानीय महिला, जनप्रतिनिधि, सामाजिक अभियन्ता, सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायका नागरिकहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, पीडितमैत्री सेवा प्रवाह, समुदायमा महिला नेतृत्वको विकास तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताका विषयमा आफ्ना धारणा राखेका थिए। सार्वजनिक सुनुवाइमार्फत स्थानीय तहमा रहेका समस्या, चुनौती तथा सेवाप्रवाह सम्बन्धी गुनासो र सुझावहरू समेत संकलन गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरण बिना समतामूलक समाज निर्माण सम्भव नभएको उल्लेख गर्दै सामुदायिक सुरक्षा प्रणालीलाई अझ बलियो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।
कार्यक्रमले स्थानीय स्तरमा महिला अधिकार र सामाजिक उत्तरदायित्वका विषयमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको वडा नम्बर २६ का अध्यक्ष शम्भु मिश्राले जनाए । वडा अध्यक्ष मिश्राले जनताको काम गरेकाले नै लगातार दुई कार्यकाल निर्वाचित भएको बताए । उनले सामुदायिक सुरक्षा जालोलाई बिधिवत दर्ता गरेर महिला समूह आए वडाबाट १० लाख बराबरको कार्यक्रम बजेटमा छुट्याउने प्रतिबद्धता जनाएका छन ।
सो अवसरमा ओसिएमसी पर्सा प्रमुख हेमा थापाले हिन्सामा परेकाको हरेक किसिमले निशुल्क सेवा दिन आफुहरु काम गर्दै आईरहेको बताईन । उनले सबै उपस्थित किशोरिहरुलाई मिलेर किशोरी समूह गठन गर्न र विभिन्न सरोकारवाला सङ्ग आफ्ना हक अधिकार को बिषयमा कुरा राख्न सुझाईन ।
डिडिआरसी पर्सा उपाध्यक्ष तथा महिला अधिकारकर्मी सलमा खातुनले समेत महिला हिंसा तथा सो सङ्ग सम्बन्धित सवालका बिषयमा गरिरहेको कामका बारे बताईन । बिरगंज महानगरको मनोपरामर्श कर्ता कन्चन श्रीवास्तवले मनो समाजिक परामर्शका बिषयमा उठेका सवालहरुको सम्बोधन गरेकी थिईन ।
ईलाका प्रहरी कार्यालय सुगौली पर्साको सई जागेश्वर महतोले समेत उठेका सवाल तथा प्रहरी कार्यालयले दिने सेवाका बारे बताएका थिए ।
कार्यक्रममा आसमान नेपालको प्रसंशा घिमिरे,मुन्नी चौधरी सहित ५० बढी सामुदायिक सुरक्षा जालोका सदस्यहरुको अर्थपूर्ण सहभागिता रहेको थियो । सहभागिहरुले कार्यक्रम अत्यन्तै अर्थपूर्ण एवम सहल भएकोले आयोजक र सहयोग गर्ने टेवालाई धन्यवाद दिएका थिए ।
सो अवसरमा सहभागी मध्येबाट खुश्बु नेशा,प्रीयन्का गिरि,रोशनि साह,सङ्गिता पटेल,रुक्सार खातुन,अनिशा साह,शोभा देबि,जिन्नत खातुन,रनिता शर्मा लगायतकाले जिज्ञासा राखेको ग्रामिण उत्थान अभियानको प्रभाकर जयस्वालले जनाएका छन ।
सहजीकरण सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।







