बिश्वास डेस्क

कलैया, जेष्ठ २१

किशोरीहरूको आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास तथा सुरक्षित सम्बन्धबारे सचेतना फैलाउने उद्देश्यले कलैया उपमहानगरपालिका–३ मा “किशोरी सशक्तीकरण तथा सुरक्षित सम्बन्ध सम्बन्धी चेतनामूलक तालिम” सम्पन्न भएको छ।

 

साक्षर सामुदायिक सिकाइ केन्द्रको प्राङ्गण, मेयर मार्ग कलैया–३ मा आयोजित तालिम साक्षर सामुदायिक सिकाइ केन्द्र कलैया–१ बाराको आयोजना तथा कलैया उपमहानगरपालिकाको सहयोगमा सम्पन्न भएको हो।

 

तालिममा किशोरीहरूको अधिकार, आत्मरक्षा, सुरक्षित सम्बन्धको महत्व, लैङ्गिक समानता, आत्मविश्वास विकास तथा सामाजिक चुनौतीहरूको सामना गर्ने उपायबारे जानकारी प्रदान गरिएको आयोजक संस्थाको परिचालक आश्मा प्रविणले जानकारी गराईन । सहभागी किशोरीहरूलाई सकारात्मक सोच, नेतृत्व क्षमता विकास र सुरक्षित सामाजिक व्यवहारका विषयमा समेत अभिमुखीकरण गरिएको उनले जनाईन।

 

कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष मोहन साह कानुले सशक्त किशोरी नै समुन्नत समाजको आधार भएको उल्लेख गर्दै शिक्षा, सचेतना र आत्मनिर्भरताले किशोरीहरूलाई जीवनका विभिन्न चुनौती सामना गर्न सक्षम बनाउने बताए। साहले किशोरीहरूलाई आफ्नो अधिकारप्रति सचेत रहँदै सुरक्षित र सम्मानजनक सम्बन्ध निर्माण गर्न आग्रह गरेका थिए।

 

आयोजक संस्थाका उपाध्यक्ष जमिरा खातुनले चेतनामूलक कार्यक्रमले किशोरीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन।

तालिममा पोखरिया नगरपालिकाको पुर्व उप प्रमुख तथा महिला अधिकारकर्मी सलमा खातुनले प्रशिक्षण दिएकि थिईन । तालिममा ४० जना किशोरिहरुको सकृय सहभागिता रहेको थियो ।

कार्यक्रमको मूल नाराका रूपमा “सशक्त किशोरी, सुरक्षित सम्बन्ध, समृद्ध समाजको आधार” लाई आत्मसात् गरिएको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर