

विश्वास डेस्क
भदौ ११
बारा । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाराको सुवर्ण गाउँपालिकाले ४ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीका अनुसार गाउँपालिकाको निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
त्यसैगरी, गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिको ५ दिनको तलब बराबरको रकमसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिएका छन्।
बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न सबै सरोकारवालालाई गाउँपालिकाले अपिल गरेको छ।







