साजिर मन्सूर
कलैया,भदौ १३
नेपाली कांग्रेसको केन्द्रीय परिपत्रअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका बाढी प्रभावित क्षेत्रमा सहयोग गर्ने उद्देश्यले नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराले कलैयामा सहयोग संकलन गरेको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराको आह्वानमा शनिबार कलैयामा बसेको बैठकबाट बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख ५० हजार रुपैयाँ संकलन भएको जिल्ला सचिव राजेश रौनियारले जनाएका छन ।
रौनियारका अनुसार राहतका लागि थप रकमसमेत संकलन गरिने भएको छ । संकलित रकमलाई आगामी सोमबार नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषको खातामा एकमुष्ट जम्मा गरिने जानकारी दिइएको छ।
नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले देशभरका पार्टी संरचनालाई सहयोग संकलन गर्न आह्वान गरेको हो।
संकलित रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयमार्फत एकमुष्ट रूपमा राज्यको विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोग गरिने बताइएको छ।
नेपाली काङ्ग्रेस बाराका कार्यवाहक सभापति मनोज भट्टको अध्यक्षतामा बसेको बैठकमा बारा काङ्ग्रेसका नेताकार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।







