
वीरगञ्ज । व्यवसायीहरुलाई ठगी गरेको आरोपमा वीरगञ्जका एक जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
घरमा जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ निवासी २६ वर्षीय विकास कुमार साहलाई सादा पोशाकमा खटिएको टोलीले जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ मुरली चोकबाट पक्राउ गरेको हो ।
साहले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुलाई आवश्यक परेका विभिन्न मोवाइल सेट, कम्प्युटर, टि.भी जस्ता इलेक्ट्रोनिक्स सामानको नक्कली टेण्डर छपाई गरी ठगी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषाामा परेको धनुषाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
डिएसपी बस्नेतका अनुसार साहविरुद्ध बहुविवाह कसुरमा जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।
साथै ठगीएका सम्बन्धीत व्यावसायीहरुलाई पनि कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।