
कलैया । भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते (पहाडी) मूलका किसान आज न्वागी खाने पर्व मनाउँदैछन् । महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रमा घरघरै जसो न्वागी खाने तयारी देखिएको छ । कात्तिक शुक्ल एकादशी पर्व (ठूली एकादशी, हरिबोधनी एकादशी) को साङ्गता (समापन) सँगै नयाँ अन्न होमादी गर्दै कात्तिक शुक्ल द्वादशीका दिन न्वागी खाएर (नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा) प्रचलनमा ल्याउने परम्पराअनुसार यो पर्व मनाइएको हो ।
पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोञ्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपीनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने हिन्दू मान्यता रहँदै आएको छ । हिन्दूको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको हुँदा धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानपीनमा प्रयोग गर्न सकिने धार्मिक मान्यताले यो पर्व परम्परा चलेको वैदिक कर्मकाण्डका ज्ञाता बर्दिबास—१ का पण्डित रामप्रसाद बराल बताउनुहुन्छ ।