सप्तरी,कार्तिक १६
जनता समाजवादी पार्टी (जसपा) भित्र कार्यकर्ताको असन्तुष्टिले अध्यक्ष उपेन्द्र यादवलाई चुनौती थपिदै गएको छ । मधेस विरोधी एमालेसँग गठबन्धन गरी चुनावमा गएकोले पार्टीका असंतुष्ट नेता कार्यकर्ता आक्रोशित बनेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका यादवलाई चुनाव जित्न चुनौती थपिँदै गएको हो ।सत्ता र शक्तिका लागि आफ्नै विरोधी, मधेसी विरोधी शक्तिसँग हात मिलाउने, अप्राकृतिक सहकार्य गर्ने उनी चुनावको मुखमा पनि यही रवैया देखाएपछि पार्टीका नेता कार्यकर्ता असन्तुष्ट बन्दै चुनावी गतिविधिबाट निष्क्रिय हुन थालेका छन् ।
एमालेलाई मधेसमा विरोधी पार्टीका चिनाएका उपेन्द्र आफैं एमालेसँग चुनावी गठबन्धन गरेसँगै कार्यकर्ता असन्तुष्ट भएका हुन् । एक असन्तुष्ट कार्यकर्ता भन्छन्, ‘नागरिकता विधेयक होस् वा मधेस आन्दोलनमा एमालेको भूमिकालाई लिएर मधेसी समुदाय असन्तुष्ट छ । त्यसमाथि सरकारमा हुँदा एमालेले जसपाका सांसद नै अपहरण गरेर पार्टी फुटाउने प्रयास गरेको थियो अहिले उनैसँग जसपा गएको छ ।’
पछिल्ला दिनमा कार्यकर्ताको परित्यागले जसपा जिल्ला नेतृत्व र स्वयं उपेन्द्रलाई चिन्तित बनाएको नेताहरु बताउँछन् ।
अर्कोतिर मधेस विरोधी छवि भएको दलसँग सहकार्य गरेका उपेन्द्रले आफ्नै क्षेत्रमा एमालेको (बागी उठ्नु) साथ नपाउनुले पनि कार्यकर्तामा निराशा छाएको छ ।