साजिर मन्सूर
बारा,जेष्ठ १
कलैया उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा “मेयर, उप–मेयर कप” दोस्रो विद्यालयस्तरीय छात्र/छात्रा खो–खो प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन समारोह श्री ३ चन्द्र माध्यमिक विद्यालय, कलैया–१ मा भव्य रूपमा सम्पन्न भएको हो। प्रतियोगितालाई नगर प्रमुख बिनोद साहले उदघाटन गर्दै खेल ले खेलाडीमा अनुशासनको बिकास सङ्गै स्वस्थ जीवन बाच्न समेत सहयोग गर्ने बताए । साहले खेलकुदको छेत्रमा लगानी बढाएर युवाहरुलाई कुलतमा लाग्न बाट रोक्न सक्ने तर्फ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा सहभागी अतिथिहरूलाई सम्मान गरिएको थियो भने उत्कृष्ट खेलाडी तथा विद्यालयहरूलाई प्रदान गरिने ट्रफी, मेडल तथा सम्मानपत्र समेत प्रदर्शन गरिएको थियो। प्रतियोगितामार्फत विद्यालय तहमा रहेका खेल प्रतिभालाई उजागर गर्दै विद्यार्थीहरूमा अनुशासन, सहकार्य र खेलप्रतिको रुचि बढाउने उद्देश्य रहेको खोखो प्रशिक्षक क्यामुदिन मन्सूरले जनाए ।
प्रतियोगितामा कलैया उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयका छात्र तथा छात्रा टोलीहरूको सहभागिता रहेको छ। खेल जेष्ठ ४ गते सम्म सञ्चालन हुने तथा विजेता टोलीलाई आकर्षक पुरस्कारसहित सम्मान गरिने जनाइएको छ।
स्थानीय खेलकुदको विकास र युवाहरूलाई खेलतर्फ प्रेरित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ।
नगर खेलकुद बिकास समिति सदस्य दिनदयाल साहको अध्यक्षतामा भएको उदघाटन समारोहमा उपप्रमुख रौशन प्रविण,समिती सदस्य अमोद गुप्ता,कलैया क्रीकेट क्लबका अध्यक्ष तसरुदिन मन्सूर,श्री ३ चन्द्र माबिका प्रधानाध्यापक रमेश कुश्वाहा,तेक्वान्दो प्रशिक्षक बृजमोहन साह,अन्य विद्यालयका प्रधानाध्यापक, खेलाडि, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आज भएको छात्र तर्फको उदघाटन खेलमा ईन्टरनेशनल ईङ्लिश बोर्डिङ स्कुलले श्री महाबिर माबी ब्रहम्पुरिलाई ५५-१८ ले पराजित गरेको आयोजकले जनाएको छ । त्यस्तै दोश्रो खेलमा छात्रा तर्फ श्री नेरा माबिले मनहर्वा ले श्री नेरा माबी सिसहनिया लाई १८-४ ले पराजित गरेको छ ।







