बिश्वास डेस्क
कलैया,बैशाख ३१
बारा जिल्लाको कलैया उपमहानगरपालिका ४ स्थित जानकी सिनेमा हल अगाडि पार्किङ गरेर राखिएका दुई वटा ट्रेक्टरबाट गएराति अज्ञात चोर समूहले ब्याट्री चोरी गरेर लगेका छन्। पछिल्लो समय कलैयामा चोरीका घटनाहरू बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्।
हार्डवेयर पसल गरेका ब्यापारी संतोष केशरीका अनुसार जानकी हल अगाडि सडक किनारमा सिमेन्ट लोड गरि राखिएको उनको ना ३ त ३६९४ र ना ३ त ३७३२ नम्बरको दुईटै ट्रेक्टरबाट रातिको समयमा ब्याट्री चोरी भएको हो। बिहान ट्रेक्टर चालक तथा धनीहरूले हेर्दा ब्याट्री गायब भएपछि घटनाबारे जानकारी भएको बताइएको छ।
स्थानीय नागरिकहरूले बजार क्षेत्रमै लगातार चोरीका घटना भइरहँदा पनि सुरक्षा निकाय तथा स्थानीय प्रशासन प्रभावकारी रूपमा सक्रिय नभएको गुनासो गरेका छन्। “दिनप्रतिदिन चोरीका घटना बढिरहेका छन्, तर प्रशासन मौन जस्तै देखिएको छ,” केशरीले बताए।
कलैयामा यसअघि पनि मोटरसाइकल,साईकल, पसल तथा घरमा चोरीका घटना हुँदै आएको स्थानीयहरूको भनाइ छ। नागरिकहरूले बजार क्षेत्रमा रात्री गस्ती बढाउन तथा चोरीमा संलग्न व्यक्तिहरूलाई चाँडो नियन्त्रणमा लिन माग गरेका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।







