बिश्वास सम्बादाता
कलैया — भदौ ३।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार भदौ २ गते साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
घटनाको गम्भीरताका आधारमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा थप अनुसन्धान टोली परिचालन गरिएको थियो। घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय पर्सा, वीरगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–१ दसधुरी निवासी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको छ। प्रहरीका अनुसार बालिका साउन ३१ गते बिहान करिब ८ः३० बजेदेखि घरबाट सम्पर्कविहीन भएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा जितपुरसिमरा–२ निवासी करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने प्रलोभन देखाएर घटनास्थलतर्फ लगेको र त्यसपछि यौन हिंसा गरी हत्या गरेको आशंका गरिएको छ। घटनाबारे थप प्रमाण तथा तथ्य संकलन भइरहेको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको भनिएको ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक सुमन थापा र म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनासँग सम्बन्धित थप प्रमाण संकलन, अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।







