साजिर मन्सूर
कलैया, भदौ ४ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित श्री सरस्वती आधारभूत विद्यालय, दसविगाहको कक्षा बालविकासमा अध्ययनरत तीन वर्षीया छात्रा गरिमा चौधरीको हत्या घटनाप्रति नेपाल शिक्षक संघ, बारा जिल्ला कार्यसमितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
संघले बिहीबार जारी गरेको शोक विज्ञप्तिमार्फत अबोध बालिकाको क्रूर तथा अमानवीय ढंगले हत्या गरिएको घटनाको घोर भत्र्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न र प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न सरकार तथा स्थानीय प्रशासनसँग जोडदार माग गरेको हो।
संघले विद्यालयमा अध्ययनरत बालबालिकाको सुरक्षामाथि चुनौती खडा गर्ने यस्ता घटना दोहोरिन नदिन विद्यालय तथा समाजमा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ।
घटनाका दोषीलाई राजनीतिक वा अन्य कुनै बहानामा उन्मुक्ति दिने प्रयास गरिए वा कानुनी कारबाहीमा ढिलासुस्ती भए नेपाल शिक्षक संघ, बारा सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ। साथै, पीडित परिवारले न्याय नपाएसम्म निरन्तर पीडितको पक्षमा न्यायका लागि लडिरहने प्रतिबद्धता संघले जनाएको छ।
संघले भदौ ५ गते बाराका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा दिवंगत छात्रा गरिमा चौधरीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसभा तथा शोक मनाउन आग्रह गरेको छ।
नेपाल शिक्षक संघ, बारा अध्यक्ष राजकिशोर साहनी र सचिव सुकदेव यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा शोकसन्तप्त परिवार तथा विद्यालय परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको विषयसमेत सार्वजनिक भएको छ।







