
कलैया । महागढीमाई नगरपालिकामा यो आर्थिक बर्षबाट विद्यालय हाताको २०० मिटर भित्र जकं फुड, मदिरा र सूर्तिजन्य बस्तु विक्री वितरण गर्न नपाउने भएको छ । यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा लागु गरिने निर्णय नगरपालिकाले गरेको हो ।
हटलाईन राष्ट्रिय दैनिकको विशेष कुराकानीमा नगर प्रमुख उपेन्द्र प्रसाद यादवले यस्तो निर्णयले नगरपालिकाका विद्यार्थीहरु गलत लतबाट जोगिने र उनिहरुको स्वास्थ्य राम्रो हुने बताउनुभयो । यादवले आजका विद्यार्थी भोलिका राष्ट्रका लागि धरोहर भएकाले हामीले हाम्रा देशका कर्णधारहरुको स्वास्थ्यमा गम्भीर हुनुपर्ने जरुरी तथा अत्यावश्यक देखिएकोले यसो गर्नु परेको बताउनुभयो ।
महागढीमाई नगरपालिकाका शिक्षक सन्तोष ठाकुरले नगरपालिकाले गरेको स्वागत योग्य निर्णयलाई हामीसबै शिक्षकले विद्यार्थीलाई बुझाउने र वरिपरि जनचेतना जगाउने कार्य पनि गरिरहेको बताउनुभयो ।
महागढीमाई नगरपालिकाले गढीमाई क्षेत्रको विकासको लागि बनाउने गुरुयोजनामा विद्यालय क्षेत्रको विकास हुने नगर प्रमुखले बताउनुभयो । नगरपालिकाले सम्पूर्ण विद्यालयलाई एउटै रङ्गले रङ्गरोगन गरिने समेत कार्यक्रम ल्याएको छ । शिक्षा नै विकासको सेतु मान्ने नगरपालिकाले शिक्षाको विकासको लागि विभिन्न छात्रवृति दिइरहेको छ ।