विश्वास डेस्क
भदौ १२,बारा। बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहीबार राति करिब १० बजे बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेलाई सुरुमा प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति १०ः५० बजे मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले पाण्डेको शव बयोधा अस्पतालमै रहेको र दुर्घटनाग्रस्त मोटरसाइकल अस्थायी प्रहरी पोस्ट बसपार्कको नियन्त्रणमा राखिएको जानकारी दिनुभयो।
लामो समयदेखि राजनीतिमा सक्रिय पाण्डे पूर्वप्रदेशसभा सदस्य पारसप्रसाद साहका स्वकीय सचिव तथा जसपा निकट समाजवादी युवा संघमा समेत क्रियाशील रहिसक्नुभएको थियो। पछिल्लो समय उहाँ जनमत पार्टीको केन्द्रीय नेतृत्वमा हुनुहुन्थ्यो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर