


विश्वास डेस्क
कलैया (बारा) — श्री गोपाल सेवा समिति, बारा, कलैयाले रसुवामा आएको विनाशकारी बाढी प्रभावितका लागि राहतस्वरूप ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
समितिको मिति २०८३/०५/१३ गते बसेको बैठकको निर्णयानुसार उक्त रकम नेपाल बैंक लिमिटेड, कलैया शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरी भौचरसहितको औपचारिक पत्र जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई बुझाइएको छ।
संस्थाका अध्यक्ष जगबहादुर यादवका अनुसार बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
यसैबीच, विपत्तिको शोक तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै यस वर्ष श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने रासलीला लगायतका सम्पूर्ण सांस्कृतिक कार्यक्रमहरू स्थगित गरिएको समितिले जनाएको छ।







