२१भदौ, काठमाडौं।नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गरी आगामी १५ औं महाधिवेशनलाई ‘एकता महाधिवेशन’ बनाउने प्रयास स्वरूप पार्टी सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ।
भेटका क्रममा दुवै नेताबीच पार्टीलाई एकढिक्का बनाएर लैजाने सहमति भएको छ। नेता कोइरालाले देश र लोकतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भन्दै पार्टी एकताका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको स्पष्ट पारे। सो क्रममा सभापति थापाले कोइरालाद्वारा अघि सारिएको ५ बुँदे प्रस्ताव स्वीकार गर्दै एकताको पक्षमा उभिने प्रतिबद्धता जनाएका छन्।
छलफलका क्रममा गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका विषयमा पनि विचार-विमर्श भएको थियो। कोइरालालाई भेटेलगत्तै सभापति थापा सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका छन्।








