लहान । कुनै बेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेको प्रसिद्ध ऐतिहासिक तथा साँस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेको छ ।

लोकनाच लोप हुन थालेसँगै कलाकार रोजगारीको खोजीमा पलायन हुन थालेका छन् । मोबाइल फोन र सिडी चक्काको बढ्दो प्रयोग तथा उचित संरक्षणको अभावमा सातौँ र आठांै शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेको मिथिला क्षेत्रका ऐतिहासिक, प्राचीन लोकनाच राजा सलहेस, शीतवसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द, कुँवर वृजभान, सुन्दर वनको सुन्दर फुल, अल्लाह रुदल, गुगलीघाट, सामाचकेवा, कमलामैया जस्ता नाच कालान्तरमा आएर लोप हुन थालेका हुन् ।

यस्तै जय विषहरा, दुलहा दयालासिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहँुला, कारिक, महराई शोरवा महाराज, महराई, कारिक महाराज, आल्ला रुदल, झगडु मल जस्ता ऐतिहासिक लोकनाच पनि लोप हुन लागेका छन् । बढ्दो टिभी, सिडी र मोबाइलको प्रयोगसँगै ऐतिहासिक तथा प्राचीन लोकगाथाको नाच लोप हुन थालेको सुनाउँदै दशवर्षको उमेरदेखि नाँच गर्दै आएका सिरहा भगवानपुर गाउँपालिकाका ४० वर्षीय पनिराम साफीले भन्नुभयो, ‘‘नाच कम्पनी बन्द हुन थालेपछि आफूहरु बेरोजगार भएका छौं ।”

उहाँले पहिला पहिला प्रतिष्ठाको लागि भए पनि ठूलो रकम खर्चेर ग्रामीण क्षेत्रमा लोकनाँच गराउँदथ्यो, अहिले त्यो विचार हराउँदै गएकाले नाच कम्पनी बन्द हुन लागेको बताउँदै नाचबाटै कमाएर २० जना कलाकारको सहभागितामा नाच मण्डली खोले, तर दुर्भाग्य भन्नुप¥यो कम्पनी नै चल्न नसकेपछि बन्द गर्नुपरहेको गुनासो गर्नुभयो ।

“केही वर्षअघिसम्म नाच कम्पनीबाटै वार्षिक पाँच÷सात लाख भन्दा बढी आम्दानी हुन्थ्यो”, अर्का कलाकार फनिरामले भन्नुभयो, ‘‘कुनै बेला मिथिला क्षेत्रमा लोकनाच प्रसिद्ध थियो, तर अहिले अब यी मौलिक नाच लोप हँुदै गएको छ ।” नाच कम्पनी बन्द हुन थालेपछि त्यसमा संलग्न कलाकार रोजगारीका लागि मलेसिया, साउदी, कतारलगायतका खाडीमुलुक तथा छिमेकी देश भारततर्फ पलायन हुन थालेको उहाँको भनाइ छ ।

नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूसँगै नाच कम्पनीमा काम गर्दै आएका साथी रोजगारीका लागि भारतको पञ्जाव र लुदियाना गइसकेको र आफू पनि भारततिरै जाने सोच बनाएको सिरहाको पोखरभिण्डाका श्रवण सदाले बताउनुभयो । “सिडी चक्का र मोबाइलको बढ्दो प्रयोगका कारण ऐतिहासिक लोकनाचका कम्पनी विस्थापित हुन थालेको छ”, कुनै बेला नाच कम्पनीको जिम्मेवारी बहन गरिसकेका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका– १ का लोचन रामले भन्नुभयो, ‘‘कुनै बेला अत्यन्तै लोकप्रिय रहेको ऐतिहासिक नाच अहिले लोप हुन थालेका छन्, जसका कारण सिरहा जिल्लामा रहेका एक सयभन्दा बढी नाच कम्पनी बन्द भइसकेको छ ।”

विगतमा ठूलो नाम कमाएका नाच कम्पनी बन्द भएपछि त्यसमा संलग्न करिब पाँच हजारभन्दा बढी कलाकार बेरोजगार भएर कामको खोजीमा विदेश पलायन भइसकेका छन्् । मिथिला क्षेत्रको ग्रामीण क्षेत्रमा लोकप्रिय रहेका यस्ता लोकनाच तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वकालमा बढी प्रभावित भएको र त्यसयता निरन्तर रुपमा विस्थापित हुने क्रम जारी रहेको कालाकारहरु बताउँछन् ।

खासगरी विवाह, शुभकार्य, उत्सव र चाडपर्वका बेला लोकनाच गराउने परम्परा रहेकामा पछिल्लो समय करिब दश प्रतिशत जति विवाहको बेलामा ग्रामीण क्षेत्रमा मात्र यस्ता लोकनाचको माग आउने गरेको छ, सिरहाको अर्नामा गाउँपालिका–४ का विन्दु सदाले भन्नुभयो, ‘‘वर्षमा एक÷दुई पटक मात्र लोकनाच हुने गरेकाले कलाकार रोजगारीको खोजीमा पलायन भएको छ ।”

ऐतिहासिक र प्राचीन घटनामा आधारित यी लोक नाचहरु लोप हुन लागेकोमा संस्कृतिविद्समेत चिन्तित बनेका छन् । संस्कृतिविद् पूर्वप्राध्यापक पिताम्बरलाल यादवले भन्नुभयो, ‘‘मिथिला क्षेत्रको संस्कृतिको धरोहरको रुपमा रहेको लोकनाच लोप हुनु दुःखद कुरा हो ।”

ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको लोकनाचको संरक्षणमा सरकारको तर्फबाट उचित कदम चाल्नुपर्ने उहाँको भनाइ छ । मिथिला क्षेत्रसँग जोडिएको पल्लवित र पुष्पति भएको यस्ता लोकनाचको संरक्षण र सम्बद्र्धनमा ध्यान नदिए मिथिला क्षेत्रका संस्कृति हराउँदै जाने भएकाले सरकारले स्थानीय तहमार्फत बजेट छुट्याउनुपर्ने माग कलाकारको छ । (रासस)

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर