कलैया । धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी आजदेखि जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण लामो समयदेखि फोहर उठ्न नसक्दा जनकपुरधाम नगर क्षेत्रका सडकमा फोहरको डङ्गुर लागेर दुर्गन्ध फैलिन थालेपछि नगर क्षेत्रमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा सुरु भएको विशेष सरसफाइ अभियानको आज बिहान प्रदेश नं २ का उद्योग, पर्यटक, वन तथा वातारणमन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायतले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।उपमहानगरपालिकाको सात टोलीसहित सुरक्षा निकाय र सङ्घसंस्थाका प्रतिनिधिसमेत गरी नगर क्षेत्र सरसफाइका लागि १० वटा टोली परिचालन गरिएको नगरप्रमुख साहले बताउनुभयो । “आजदेखि सप्ताहव्यापीरूपमा सुरु भएको विवाह पञ्चमी महोत्सवलाई ध्यानमा राखेर सरसफाइ अभियानको सुरुआत गरिएको छ”, नगरप्रमुख साहले भन्नुभयो, “विविध कारणले नगर क्षेत्रको फोहर उठ्न सकेको थिएन, तर ढिलै भए पनि सबै पक्षको सहयोगमा सरसफाइ अभियान सुरुआत गरिएको हो ।” यो अभियान अब नियमितरूपमा चल्ने उहाँको भनाइ थियो ।

नगर क्षेत्रको चारैतिर परिचालन भएको टोलीले सडक र गल्लीहरूमा सरसफाइ गर्ने र यसरी सङ्कलित फोहर हालका लागि बनाइएको अस्थायी डम्पिङसाइटमा फ्याँकिने नगरप्रमुख साहले बताउनुभयो । विवाह पञ्चमी महोत्सवलाई ध्यानमा राखी नगर क्षेत्रको विभिन्न स्थानमा अस्थायी शौचालय निर्माणको कामसमेत अघि बढाइसकेको नगरप्रमुख साहले जानकारी दिनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर