
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मङ्गलबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबीच पार्टी केन्द्रीय कार्यालयमा र बुधबार सभापति देउवासहित प्रधानमन्त्री निवास बालुवाटारमा सबै पदाधिकारीबीच आन्तरिक छलफल भएको थियो ।
विभिन्न मितिमा केन्द्रीय कार्यसमितिका पदावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा पाँच भ्रातृ एवं शुभेच्छुक संस्थाका नेतृत्व कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकाले बैठकले त्यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्ने, कोभिड–१९ को सङ्क्रमणका कारण अधिवेशन प्रभावित भएका कांग्रेसका १६ जिल्लाका जिल्ला कार्यसमितिका सम्बन्धमा समेत बैठकले निर्णय गर्ने बताइएको छ ।