निजगढ । निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगीताको उपाधि नेपाल खेलकुद क्लव रौतहटले जितेकोछ । शनिबार सम्पन्न फाईनल खेलमा नवजनजागृति युवा क्लव सिमरा बारालाई ३—१ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद क्लव रौतहट चौथो संस्करणको निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको विजेता बनेकोहो ।
नवजनजागृति माथि सहज जित हासिल गरेको नेपाल खेलकुद क्लवका म्याक्सवेलले ११ औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएकाथिए । खेल अवधिभरी नवजनजागृतिमाथि हावी रहेको नेपाल खेलकुद क्लवकालागि ३५ औ मिनेटमा फोडे फोफनाले गोल गर्दै अग्रता दोब्बर बनाए। लगत्तै ४२ औ मिनेटमा फोफनाले नै गरेको गोलले नेपाल खेलकुद क्लव रौतहटले पहिलो हाफमै ३—० को अग्रता बनायो ।
दोश्रो हाफमा पनि थुप्रै अवशरहरु सृजना गरेको नेपाल खेलकुद क्लव गोल गर्न भने सफल रहेन । नवजनजागृतिकोलागि खेलको ईन्ज्युरी समयमा टोनिस सिनो हाङले एक गोल फर्काए । नेपाल खेलकुद क्लवले उपाधि सहित एक लाख पचास हजार रुपैंया प्राप्त गर्यो भने उपबिजेता नव जनजागृति युवा क्लवले पचहत्तर हजार रुपैंया प्राप्त गर्यो । प्रतियोगिताको उपाधि निजगढका मेयर सुरेश कुमार खनालले हस्तान्तरण गर्नुभएकोथियो ।
फाईनल खेलको म्यान अफ द म्याच नेपाल खेलकुद क्लव रौतहटका फोफना घोषित भए । म्यान अफ द म्याच घोषित फोफनाले दुई हजार रुपैंया प्राप्त गरे । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट गोलरक्षक निजगढका रविन बस्नेत,डिफेन्स नवजनजागृतिका सागर चौलागाईं,मिडफिल्डर नेपाल खेलकुद क्लव रौतहटका रोशन पुरी,स्ट्राइकर नेपाल खेलकुद क्लवका म्याक्सवेल र उदयीमान खेलाडीको उपाधि निजगढका संजित धामीले प्राप्त गरे ।
विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले जनही पाच÷पाच हजार रुपैंया प्राप्त गरे । यसअघि प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै निजगढका मेयर सुरेश कुमार खनालले निजगढमा फुटबल खेलको स्तर वृद्धि गर्न आगामी दिनमा थप सहयोग गर्न प्रतिबद्ध रहेको जनाउनुभयो । निजगढ युवा क्लवको आयोजना र निजगढ फुटबल क्लवको सहआयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य सहयोगी निजगढ नगरपालिका रहेकोथियो ।