साजिर मन्सूर
कलैया,फाल्गुन २१
बारा प्रहरिले भारतका ३ र नेपालका दुई जना हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनालाई पत्रकार सम्मेलन गरि आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई २१ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीको टोलीले बितेको फागुन १८ गते भारतको बिहार राज्यको मोतिहारी घर भएका २९ वर्षीय रञ्जित सरार्फ र बारा महागढीमाई नगरपालिका-१ घर भई आसिफ मनि चेन्जर सञ्चालन गरी बस्ने ३९ वर्षीय मेराजुल हक अन्सारी तथा ३१ वर्षीय कलामुदिन अन्सारीलाई पक्राउ गरेको हो । कलैया उप-महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट सर्राफलाई कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा लुकाई छिपाई ल्याएको विभिन्न दरको पाँच लाख रुपैयाँसहित पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।
त्यसपछि उक्त हुण्डी कारोबारमा संलग्न रहेका आसिफ मनि चेन्जरका सञ्चालकहरूलाई पनि पक्राउ गरिएको थियो । उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धीको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी गराएको छ ।
त्यसैगरी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले फागुन २० गते कल्याणपुर सुलिगेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकल सहित भारतको बिहार घर भएका ४२ वर्षीय कृष्णलाल प्रसाद र ४० वर्षीय रवि शंकर सिंलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट कुनै पनि बैंकको इजाजत पत्र नभएको विभिन्न दरको नेपाली सोह्र लाख नौ हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।







