नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध संसदीय छानबिन समिति गठन नभएसम्म संसदको अवराेध कायमै राख्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संसदीय छानबिन समिति गठनको मागलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सहकारी ठगीमा संलग्न व्यक्तिलाई कारबाही नहुँदासम्म यस विषयमा सम्झौता नहुने बताउनुभयो । सहकारी ठगी आमनागरिकको मुद्दा भएकाले छोड्न नमिल्ने महतको भनाइ छ । लाखौँ बचतकर्ता सहकारीबाट पीडित भएकाले उनीहरूलाई न्याय दिनुपर्ने महतले बताउनुभयो । गृहमन्त्रीले सहकारी ठगीको अनुसन्धान प्रभावित पारेको तथा तथ्य लुकाउन खोजेकाले संसदीय छानबिन आवश्यक भएको प्रवक्ता उहाँले बताउनुभयो ।

यस्तै बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारीका ठग बचाउनका लागि जुनसुकै पार्टी र जो नेता लागे पनि कांग्रेस पछि नहट्ने बताउनुभयो ।

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई संसदमा प्रस्तुत गर्न दिने विषयमा पनि कांग्रेस लचक देखिएको छैन । कांग्रेस प्रवक्ता महतले सरकारले नै नीति तथा कार्यक्रम रोक्न खोजेको आरोप लगाउनुभयो । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने लगायतमाथि छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर