सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले हरेक वर्ष वार्षिक बजेट प्रस्तुत गर्नुअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।
मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने तय भएको छ । संयुक्त बैठकका लागि आवश्यक तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताउनु भएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा उपस्थित हुन संसद् सचिवालयले उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत विशिष्ट अतिथिलाई निमन्त्रणा गरी सकेको छ भने राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुलाई सचिवालयले सार्वजनिक सूचनामार्फत आमन्त्रण गरिसकेको छ ।