प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले कास्कीको सुर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई गृहमन्त्री रवि लामिछानेले सरूवा गरेको बताएका छन्।
२०८० भदौ ८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा हाजिर भएका इन्स्पेक्टर सूर्यबहादुर मगरलाई एक वर्ष पनि काम गर्न नदिएर गृहमन्त्रीले महोत्तरी सरूवा गरिदिएको शर्माको भनाइ छ।
इन्स्पेक्टर मगर कास्की प्रहरी कार्यालयमा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत रहेको शर्माको भनाइ छ ।
कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले सुर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च अदालतको बहस सुन्नका लागि पोखराबाट काठमाडौं आए पनि बहस सुन्न रोकिएको बताए ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सुर्यदर्शनलगायत विभिन्न सहकारीको बचत गोरखा मिडियामा ल्याएको आरोप छ। यसबारे संसदीय छानबिन समितिले पनि अध्ययन गरिरहेको छ। लामिछाने ग्यालेक्सी टेलिभिजनको सञ्चालक संस्था गोरखा मिडियाका प्रबन्ध निर्देशक थिए ।







