कलैया – बाराको बारा गढी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागी ३९ करोड ३९ लाख ७३ हजारको अनुमानित बजेट आज सोमबार आफ्नो ५ औँ गाउँसभा मार्फत सार्वजनिक गरेको छ ।
संघिय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत १० करोड ९ लाख , सशर्त अनुदानमध्ये शिक्षा , कृषि पशु र स्वास्थ्य तर्फ गरी जम्मा १७ करोड १२ लाख ७३ हजार राजस्व बाँडफाँड तर्फ ८ करोड ४२ लाख रहेको छ । यसैगरी बिशेष अनुदान तर्फ १ करोड १५ लाख प्रदेश सरकारबाट बजेटमध्ये वितिय समानीकरणबाट ७० लाख प्रदेश बिशेष अनुदान तर्फ ३० लाख र सम्पुरक अनुदान तर्फ २० लाख र आम्दानि अनुमानित रु २६ लाख तथा आ.व को बैंक मौज्दात १ करोड गरी यस आ.व २०८१/८२ को जम्मा ३९ करोड ३९ लाख ७३ हजारको अनुमानित बजेट सार्वजनिक भएको हो ।
पालिका उपाध्यक्ष लक्ष्मी देवी रायले प्रस्तुत गर्नुभएको बजेटमा युवाहरुलाई कृषिक्षेत्रमा आकर्षित गर्न कृषि र पशुपालन व्यावसायिकता उन्मुख विभिन्न कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
यसको लागी कृषिमा क्षेत्रमा पालिका स्तरमा ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पशु क्षेत्रमा २० लाख रकम विनियोजन गरिएको हो । सहकारी चेतनाको अभिवृद्धि गर्न र सहकारी संस्थाहरुको सञ्चालनका लागि ज्ञान र सिप विकास गर्दै वचत गर्ने बानीको विकास गर्न जानकारी मुलक एवम सचेतनामुलक क्रियाकलाप सञ्चालन गर्न सहकारी क्षेत्रमा ३ लाख विनियोजन गरिएको छ ।
कृषि विद्युतीकरणको लागी विधुत प्राधिकरणको लागत साझेदारीमा सिंचाईका लागी विद्युतिकरण आवश्यक बजेट विनियोजन गरिएको उपाध्यक्ष रायले उल्लेख गर्नुभएको हो ।
स्वास्थ्य क्षेत्रलाई प्रभावकारी तथा गुणस्तरीय सेवा उपल्बधताका लागी ३० लाख विनियोजन गरिएको छ भने शिक्षा क्षेत्रलाई व्यवस्थति तथा गुणस्तरीय बनाउनको लागी विभिन्न कार्यक्रम तथा करार शिक्षकहरुको भर्ना तथा निरन्तरताका लागी २ करोड विनियोजन गरिएको उहाँले जनाउनुभयो ।
महिला स्वयंसेविकाहरुको मनोबल उच्च राख्न प्रोत्साहन भत्तको रुपमा जनही मानसिक २ हजार को दरले २१ लाख विनियोजन गरिएको उपाध्यक्ष रायले बताउनुभयो । खानेपानी सम्बन्धि विभिन्न आयोजना र कार्यक्रमको लागी १० लाख विनियोजन गरिएको समेत उपाध्यक्ष रायले बताउनुभएको छ ।
खेलकुद तथा मनोरन्जन अन्तर्गत विभिन्न कार्यक्रमको लागी ५ लाख छुट्याईएको छ ।
पूर्वाधार विकास अन्तर्गत विभिन्न स्थानीय सडकहरु तथा पुल नाला कल्भर्ट तथा भवन निर्माणको लागी ६ करोड ४२ लाख विनियोजन भएको छ भने संघिय सरकारको लगानीमा १५ शैयाको अस्पताल निर्माण कार्य १० प्रतिशत सम्पन्न भएकोले यसलाई समयमा सम्पन्न गर्नको लागी संघिय सरकारसंग समन्यव गरिने उल्लेख छ ।
वन तथा भू-संरक्ष्ण क्षेत्रका साथै वातावरण र सरसफाई कार्यक्रमका लागी ५ लाख विनियोजन गरिएको छ ।
विश्वव्यापी रुपमा विभिन्न भेरियन्टमा देखा परेका विभिन्न सरुवा रोगका सङ्क्रमण नियन्त्रण तथा रोकथामका साथै अन्य बाढी पहिरो जस्ता विपद सम्बन्धि कार्यक्रमका लागी विपद व्यवस्थापन अन्तर्गत १५ लाख विनियोजन भएको छ ।
– कलैया बारा , प्रीयंका दास







