प्रधानमन्त्री केपी शर्मा ओलीले पदको उचित सदुपयोग गर्ने बताउनुभएको छ। हिजो प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिँदै उहाँले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पदको सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ, यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्नेछु, प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
हिजो प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिँदा २७५ सदस्यीय प्रतिनिधिसभामा कूल २६३ सांसद मतदानमा सहभागी भए । जसमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गर्नु भएको थियो । यो वर्तमान संसद्को दुई तिहाइ मत हो ।







