मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले व्यवसायीहरुका समस्या बुझेको र उनीहरुलाई भारतबाट सामान ल्याउन समस्या भइरहेको बताउनुभयो ।
मधेशमा बेरोजगारी अत्यधिक रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले यसलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।
धनुषा र सिरहामा कमला नदीको बगर क्षेत्रमा खेतीपाती गरी रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको योजना रहेको उहाँको भनाइ थियो ।
मधेशमा स्थापना भएका उद्योगमा स्थानीयले रोजगारी नपाएको भन्दै उनले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि नीति निर्माण तहमा समेत सरोकारवालालाई सहभागी गराइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतको उपस्थिति रहेको थियो ।







