मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मन्त्रालय र कार्यालयमा छड्के निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के निरीक्षण गरेका हुन् । कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्ने गुनासो आएकाले छड्के निरीक्षण गरेको मुख्यमन्त्री सिंहले बताए ।
आर्थिक वर्ष समाप्त भई नयाँ आर्थिक वर्ष साउन र भदौ महिनामा कर्मचारीहरू कार्यालयमा नभेट्ने परिपाटी बनेकोले अनुगमन सुरु गरेपछि अहिले कार्यालय कर्मचारीहरू भेट्न थालेको मुख्यमन्त्री सिंहले बताए । कार्यालयको निर्धारित समयमा कर्मचारी नआउने, आए पनि हाजिरी नगरी बाहिर हिँड्डुल गर्ने र छडकेमा परेपछि कार्यालयमै रहेको तर हाजिरी गर्न बिर्सेको बहानाबाजी गर्ने जस्तो प्रवृत्ति भेटिएको उनले भने ।
कर्मचारीहरू कार्यालयमा हाजिरी भइसकेपछि बाहिर जानुपर्दा कामको जानकारी गराई, आदेश लिएर मात्र जानुपर्ने र बिदा स्वीकृत गराएर मात्र बिदा बस्नु पर्ने उनले निरीक्षणको क्रममा निर्देशन दिएका छन् ।
यसअघि साउन ६ गते आइतबार मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका ११ वटा मन्त्रालयहरूमा निरीक्षण गरेका थिए ।







