आयातकर्ताले समयमा कन्टेनर नलग्दा तथा खाली कन्टेनर फिर्ता जान नसक्दा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) मा कन्टेनरको भीडभाड बढेको छ । हाल बन्दरगाह परिसरमा मालवाहक १ हजार ६ सय ५० र खाली १ हजार १ सय ५० गरी २ हजार ८ सय कन्टेनर रहेका छन् । बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवालले आयातकर्ताले समयमा नलग्ने र खाली कन्टेनर समयमा भारतीय बन्दरगाहहरुमा फिर्ता नजाने प्रवृत्तिले बन्दरगाह परिसरमा कन्टेनरको भीड बढ्दो क्रममा रहेको बताउनुभयो ।
बन्दरगाह सन्चालक कम्पनी प्रिस्टिन भ्यालीलाई कन्टेनरको आवागमनको कामलाई व्यवस्थित गर्न भनेको पनि उहाँले बताउनुभयो । यता प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्मा कन्टेनरको आवागमन सामान्य अवस्थाझैँ रहेकाले खाली कन्टेनर थुप्रिएको भनी भन्न नमिल्ने जिकिर गर्नुभयो । हाल यो बन्दरगाहमा कोंकर, प्रिष्टिन, डीपी वर्ल्ड, हिन्द टर्मिनल्स, बक्स ट्रान्स लगायतका कम्पनीले भारतको कोलकाता, हल्दिया र बिशाखापटनम बन्दरगाहबाटबाट रेल्वे र्याक ल्याउने गरेका छन् ।
५ वटा कम्पनीले पालै पालो गरी रेल्वे र्याक ल्याउँदा झण्डै ७ सय खाली कन्टेनर नियमित रुपमै बन्दरगाह परिसरमा फर्किने पालो कुरेर बस्ने गरेको शर्माले बताउनुभयो । एउटा र्याकले एक पटकमा ९० वटा खाली कन्टेनर लग्न सक्ने भएकाले एकै साथ धेरै कन्टेनर फिर्ता जान नसक्ने उहाँले बताउनुभयो ।
कतिपय आयातकर्ताले समयमा आफ्नो मालवाहक कन्टेनर नलग्ने प्रवृत्ति रहेकाले बन्दरगाहमा त्यस्ता कन्टेनरले पनि भिडभाड बढाउने गरेको शर्माले बताउनुभयो । बन्दरगाह परिसरमा मालावाहक कन्टेनर राख्दा पनि त्यसको पार्किङ्ग शुल्क बुझाउनु पर्छ ।
एउटा कन्टेनरको पार्किङ्ग शुल्क दैनिक ३ सय रुपैयाँ रहेको छ । तर आयातकर्ताहरु पार्किङ्ग शुल्क तिरेर भएपनि आफ्नो कन्टेनर बन्दरगाहमै राख्छन् र आवश्यकता अनुसार कन्टेनर जाँचपास गराई लग्छन् । यार्डमा कन्टेनरको चाङ बन्दा कुनै आयातकर्ताले आफ्नो कन्टेनर लग्न चाहे उसको कन्टेनर चाङबाट झिक्न निक्कै समस्या हुने गरेको शर्मा बताउनुभयो ।
यसो हुँदा समय खेर जानुका साथै कन्टेनरको ह्यान्डलिङ्ग लागत पनि बढ्न जाने उहाँले बताउनुभयो । यार्ड भरिएपछि दैनिक जसो आउने नयाँ कन्टेनरलाई व्यवस्थापन गर्न पनि सकस हुने गरेको उहाँले बताउनुभयो । यो बन्दरगाहको क्षमता १ हजार ५ सय कन्टेनर मात्रै हो । यस्तो अवस्थामा यार्डको व्यवस्थापन गर्न गा¥हो हुने गरेको उहाँले बताउनुभयो ।







