राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाकाे आजकाे बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको दाबी गर्नुभएको हो ।
लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताउनुभयो । उहाँले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरूको भने आफू भागीदार हुने उल्लेख गर्नुभयाे ।
संसदीय छानबिन विशेष समितिले आज प्रतिनिधिसभामा पेश गरेको प्रतिवेदनमा सूर्यदर्शनसहितका पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियाले अपचलन गरेको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानून बमोजिम कारबाही गर्न सिफारिश गरेको छ ।







