बाराको परियारपूरमा अवस्थित विश्व प्रशिद्ध महागढी मन्दिरबाट निकालिएको शोभा यात्रा भव्यताका साथ सम्पन्न भएको छ ।
आगामी मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि आज दशैँको घटस्थापनाका दिन विहाननै भव्य शोभा यात्रा निकालिएको थियो ।
गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिका अनुसार हात्ती, घोडा उटँ, झाकी दुलदुल घोडा, बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरुसहित शोभा यात्रा निकालिएको थियो ।
शोभा यात्रामा ५० हजार भक्तजनहरुको सहभागीता रहेको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार मन्दिर परिसरबाट निस्किएको शोभा यात्राले कलैया उपमहानगरपालिका लगायत १३ गाउँको २० किलोमिटर परिक्रमा गरेको थियो ।
शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनर्वा चोक, तेलकुवा चोकदेखि नहर हुदैँ बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिशमरपुर, कलैया भरत चोकदेखि गुप्ता पेट्रोल पम्पदेखि अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा पुगी सम्पन्न भएको थियो ।







