मकवानपुरमा बालबालिकामा कुपोषणको समस्या वर्षेनि बढ्दै गएको छ । पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो । यद्यपि कुपोषणको शिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्य लाभ गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा एक सय ३३ जना बालबालिकामा कडा कुपाेषित फेला परेकाेमा उपचारपछि ५९ जना स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् । बाँकी बालबालिकाको अझै उपचार भइरहेको छ । पोषण सुधार गर्न जिल्लामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन भइरहेको छ ।
यस्तै गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न एकीकृत पोषण कार्यक्रम सञ्चालनमा छ । मकवानपुरमा जन्मिएको १२ महिनाभित्र बालबालिकाको तौल लिनेको सङ्ख्या पनि बढेको छ ।
दुई वर्षभित्रका बालबालिकाको कम्तीमा २४ पटक वजन मापन गर्नुपर्नेमा दुई वर्षमा पाँचपटक मात्र बालबालिकाको वजन मापन हुने गरेको प्रमुख मिजारले बताउनुभयो ।







