राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले २५ दिन म्याद थपको आदेश मागे पनि न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति दिनुभएको हो ।
सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा अनुसन्धानका लागि हिरासतमा रहेका सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले यही कात्तिकको २ गते रवि लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरेर पोखरा पुर्याएको हो । लामिछानेलाई सुप्रिम सहकारीको रकम हिनामिनाको पनि आरोप लागेकाले पोखराबाट अब बुटवल लैजाने तयारी रहेको छ ।
प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको समर्थनमा आजै पोखरामा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । लामिछानेलाई हिरासतमुक्त गरेर पनि अनुसन्धान गर्न सकिने तर सरकारको प्रतिशोधका कारण हिरासतको बसाइ लम्बाइएको भन्दै रास्वपाका समर्थकले पोखरामा प्रदर्शन गरेका हुन् । उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।