रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बहस सुरु भएको छ । कार्यालय सुरु भएसँगै लामिछाने उपस्थित भएपछि अदालतमा बहस सुरु भएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएका हुन् । उनको मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रहेको छ ।

पक्ष-विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ । बहस आजै सकिने वा नसकिने भन्न नसकिने श्रेस्तेदार ज्ञवालीको भनाइ छ । लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।

सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर