कलैया । विगत दुई महिना देखि बन्द रहेको बारागढी गाउँपालिकाका विद्यालयहरुमा मंगलवार (आज) देखि भौतिक उपस्थितिमै संचालन हुने भएका छन् ।
गाउँपालिकाले आजबाट विद्यालय संचालनको अनुमति दिएको हो । बारागढी गाउँपालिकाले साउन ३ गते आईतवार एक सूचना जारी गर्दै सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले भौतिक उपस्थितिमै साउन ५ गते देखि संचालन गर्न दिने सूचना सार्वजनिक गरेको थियो ।
गाउँपालिकाबाट जारी सूचनामा कोरोना महामारीको दोस्रो लहरका कारण विद्यालयहरुमा भौतिक रूपमा उपस्थित भई शैक्षिक सत्र २०७८ सालको पठनपाठन अहिले सम्म सुरु नभएको र कोभिड–१९ संक्रमण न्यून भईसकेकोले विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिन लागिएको उल्लेख छ ।
गाउँ शिक्षा समितिको असार ३० को निर्णयानुसार विद्यालयहरुमा विद्यार्थीहरुलाई समूहमा विभाजन गरी सामाजिक दुरी कायम गर्दै कक्षा संचालन हुनेछ । यसका साथै पूर्ण रूपमा सरसफाई तथा सुरक्षाका उपायहरु अपनाई विद्यालयहरु संचालन हुनेछन् ।