शिल्पा कुश्वाहा
कलैया,बैशाख १९
कलैया उपमहानगरपालिका वडा नम्बर १४ पूर्ण खोप वडा घोषणा भएको छ।
मापदण्ड बमोजिम जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको बघवन स्वास्थ्य चौकिका प्रमुख महम्मद सज्जाद अंसारीले बिश्वास एफएम लाई जनाए ।
अन्सारीले वडामा बघवन , भौंरा, लक्ष्मिनिया र जितपुर गरी ४ वटा टोल रहेको जसमा वडाका १ सय २८ जना खोप लिईरहेका बालबालिका मध्ये ५ वर्ष मुनिका ६८ वटा बालबालिकालाई पूर्ण खोप लगाइएको बताए ।
१५ देखि ५९ महिना भित्रका ६८ वटा बालबालिकालाई खोप लगाएसंगै वडालाई पूर्ण खोप वडा घोषणा गरिएको उनले जनाए ।
वडा अध्यक्ष सुरेन्द्र प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न भएको घोषणा कार्यक्रममा कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अजय जयसवालले छिट्टै उपमहानगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिने बताउनु भएको छ ।
घोषणा कार्यक्रममा वडामा कार्यरत रहेका स्वयमसेविका तथा स्वास्थ्य चौकिका कर्मचारीहरुलाई कदरपत्रले सम्मान गरिएको छ ।
पूर्ण खोप वडा घोषणा कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पत्रकार लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।








