साजिर मन्सूर
कलैया,जेष्ठ ५
कुस्ठरोगप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बारामा सञ्चारकर्मीहरूलाई लक्षित गरी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमले कुस्ठरोगसम्बन्धी सामाजिक भ्रम तोड्न सञ्चारको भूमिकालाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ। द लेप्रोसी मिसन नेपाल सिमराको आयोजनामा स्वास्थ्य कार्यालय बाराको सहकार्यमा आयोजित उक्त कार्यक्रममा जिल्लाभरिका करिब २० जना पत्रकारहरूको सहभागिता थियो। कार्यक्रममा कुस्ठरोगका प्रारम्भिक लक्षण, संक्रमणको तरिका, उपचार विधि तथा रोगप्रतिको सामाजिक दृष्टिकोणबारे जानकारी प्रदान गरियो।
अभिमुखीकरणमा सहभागी पत्रकारहरूले कुस्ठरोगबारे नयाँ जानकारी पाएको र भविष्यमा यस विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन ।
कुष्ठरोगको संका गर्ने आधार तपसिलका रहेको डा. लोकेश्वर चौरसियाले बताएका छन ।
-छालामा रातो वा फुस्रो रंगको दाग देखापरेमा ।
-अनुहारको छाला र कानको लोती वाक्लो र चम्किलो देखीएमा ।
-अनुहार वा शरिरको अन्य भागमा गीर्खाहरु देखा परेमा ।
-आँखी भौ झरेमा वा पातलो भएमा ।
-हात खुट्टाका औंलाहरु बाङ्गो (खुम्चीएमा) भएमा ।
-हात वा खुट्टा लत्रीएमाँ ।
-हत्केला वा पैतालामा नदुख्ने घाउ देखा परेमा ।
-हत्केलाको मांशपेसीहरु सुकेर गएमा ।
-नाक थेप्चो भएमा ।
द लेप्रोसी मिशन नेपालको अनुगमन तथा मुल्यांकन अधिकृत सीता बिस्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।







