साजिर मन्सूर
कलैया,जेष्ठ १९
जितपुर सिमरा उपमहानगरपालिका अन्तरगतको विभिन्न वडाका बकुलिया,अमाडार,बिशुलिया,फरहदवा,बेहरी र औराहा लगायतका गाउका लाखौ जनता प्रभावित हुने गरि जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलिया गाउँ नजिक डम्पिङ्ग साईट बनाउन लागेको भन्दै स्थानियले बिरोध जनाएका छन । बकुलिया स्थित ब्रहम बाबा मन्दिर प्राङ्गणमा आज सो छेत्रका सयौ जनताले एक स्वरमा त्यो डम्पिङ्ग साईट बनाउन नदिने प्रण गरेका छन । यहाँ डम्पिङ्ग साईट बनाउदा सिमरा एयरपोर्टमा ओर्लने प्लेनका लागि समेत खतरा हुने स्थानियले बताएका छन । फोहोरको डङ्गुर हुदा त्यहा अनावश्यक रुपमा काग चरा आउने र त्यो बिमानमा ठोक्किएर दुर्गटना समेत हुने सम्भावना लाई नकारर्न नसकिने बताएका छन ।
जितपुर सिमरा उपमहानगरपालिका को उप मेयर प्रत्यासी काङ्ग्रेस नेतृ मेघा शाहिले आफू बकुलिया सहित यस भेगका जनताका लागि अत्यन्तै चिन्तित रहेको र यो नर्क को अनुभूत म भएसम्म गराउन नदिने बताएकी छन । उनले सोझा थारु बस्तिमा जे पनि झुक्याएर बनाउने स्थानिय सरकारको चाहना कुनै हालतमा पूरा हुन नदिने चेतावनी दिएकी छन । उनले आफू चुनावमा अङक गणितले हारेको तर जनताको नजरमा जित महसुस गरेको भन्दै जनताको हरेक सुखदुःखमा मेरो साथ रहेको उल्लेख गरेकी छन ।
वडा अध्यक्ष दिपेन्द्र चौधरी पुर्व वडा अध्यक्ष मोहित चौधरी सहित वडा सदस्य स्थानिय नागरिक समाज,महिला अगुवाहरु सबैले यसको बिरोध गरेका छन ।
वडा सदस्य ईन्दल हजराले कोहि पनि हाम्रो जनताको इच्छा बिपरित जान चाहे प्रतिकार गर्ने सारा जनताको चाहना रहेकाले यसमा हामी सबै एक भएको बताए ।
थारु कल्याणकारी समिती नगर समिति सभापति राजेन्द्र चौधरीले बकुलियाका जनता त्यसमा पनि थारुहरु सोझा साझा भएकोले कैयौं पटक हामिले यहाँ डम्पिङ साईट नबनाउन भनेर चेतावनी दिदा पनि हरेक पटक यो योजना ल्याएर हाम्रो अपमान गर्ने बिरुद्द आक्रामक रुपमा लाग्ने चेतावनी दिएका छन । उनले जितपुर र सिमरामा सबै खाले राम्रा सरकारी कार्यालय,बैंक,बितिय संस्था आदि राख्ने तर बकुलियामा खाली पाडा बजार,डम्पिङ साईट बनाउन सोच्नु हामी सङ्ग अपमान गर्न चाहेको भन्दै स्थानिय सरकारलाई बेलैमा होस पुर्याउन आग्रह गरे ।
स्थानिय सबिता देबि चौधरीले गाउमा कुनै हालतमा डम्पिङ्ग साईट बनाउन नदिने बताईन । यसका लागि सारा गाउबासी एक छौ भनिन ।
अधिवक्ता अभिनय गुप्ताले जाबो एक दुईटा कम्पनीले नदिमा बगाएको फोहोर सफा गराउन नसक्ने स्थानिय सरकारले सारा उपमहानगरको फोहोर ल्याएर बकुलिया बासिको सात पुस्तालाई नर्क को अनुभूति गराउन लागिपरेको आरोप लगाए । उनले यो कार्यका बिरुद्ध यश भेगका सारा जनता अदालत जान तैयार रहेको बताए ।
पुर्व वडा अध्यक्ष मोहित चौधरीले आफू यस अगाडिको कार्यकालमा पनि यो दुस्साहस बिरुद्ध लागेको स्मरण गराउदै कुनै हालतमा बकुलियामा यो नर्कको अनुभूति हुने योजना हुन नदिने बताएका छन ।
वडा अध्यक्ष र स्थानिय जनतालाई बिना कुनै जानकारी जेष्ठ २२ गते डम्पिङ्ग साईटको शिलान्यास गर्ने भनेर बुझ्न आएकाले यो दुस्साहस नगर्न स्थानिय जनताले संबंधित निकायलाई चेतावनी दिदै स्थानिय जिल्ला प्रशासन कार्यालय बारा सङ्ग यो कार्य रोक्न माग गरेका छन । उनिहरुले यसका लागि बाराका प्रजिअ वसन्त अधिकारी लाई ज्ञापन पत्र बुझाउने तैयारी समेत गरेका छन । यहाका जनतालाई बेवास्ता गरि यदि शिलान्यास गरिए उत्पन्न हुने असहज परिस्थितिको लागि जितपुर सिमरा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बारा एवम जिल्ला प्रहरी कार्यालय बारा जिम्मेवार हुने स्थानियले बताएका छन ।
यता यस बारे जितपुर सिमरा उपमहानगरपालिकाका का मेयर राजन पौडेल सङ्ग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।







