साजीर मन्सूर
कलैया,भदौ ६
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीले आफ्नो कार्यक्षेत्रलाई सेवाभावका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन्। गृह मन्त्रालयले हिजो सरुवा गरेको अनुसार अधिकारी बाराबाट सिरहा जाने भएका छन । अधिकारीको सरुवा भएसंगै बारामा प्रकाश पौडेल आउने भएका छन् । उनी हाल चितवनको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन ।
यो बिच प्रजिअ अधिकारीले भने, “आमाको जन्म थलो बारामा प्रजिअ भएर सेवा गर्ने मौका पाएँ, अहिले बुवाको जन्म थलो सिरहामा सेवा गर्ने अवसर मिल्नु मेरो लागि सौभाग्य हो।”अधिकारीले बारामा रहेर काम गर्दा अत्यन्तै सहज भएको र बाराका जनता अत्यन्तै राम्रा भएको बताए । पहिला पहिला सुने जस्तो बारा असजिलो नभएको उनले भने ।
उनले अब सिरहावासीका समस्या सुन्ने र समाधान गर्ने कार्यलाई प्राथमिकतामा राख्ने बताए। “जनताको पक्षमा काम गर्ने हाम्रो पहिलो दायित्व हो। प्रशासनलाई नागरिकमैत्री बनाउन म निरन्तर लाग्नेछु,” प्रजिअ अधिकारीले जोड दिए।
उनका अनुसार सुशासन, शान्ति–सुरक्षा र विकास प्रशासनका प्रमुख प्राथमिकता दिएको बताए । बाराको सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गर्दै उनले जिल्लाको समृद्धिका लागि सबैसँग सहकार्यमा अघि बढेर बारामा काम गरेको भने।
सिडिओ अधिकारीले भारत–नेपाल सीमामा पारअपराध नियन्त्रण गर्न पूर्वी/पश्चिमी चम्पारण (भारत) का डिएम/प्रहरी–एसएसबी र बाराका सुरक्षा निकायसँग नक्कली नोट, अवैध कारोबार, मानव बेचबिखन, विपद् उद्धार–सहयोग जस्ता एजेन्डामा समन्वय गराउन भुमिका खेले । उनले २०८१/८२ सालको एसईई परीक्षामा अमर्यादित/गलत क्रियाकलाप सह्य नहुने भन्दै चेतावनी, परीक्षा अवधिभर निरन्तर अनुगमन गरेका थिए ।
यातायात कार्यालय बारा अगाडी नक्कली मेडिकल रिपोर्टको ठेली बरामद गरि रिपोर्ट बेच्ने ३ जना नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाए । कलैयाको मिठाई पसलमा कारखानामा अनुगमन गर्दा लेबल/गुणस्तर उल्लङ्घन र कारखानाको सरसफाइ कमजोर भेटिएकाले सन्चालकलाई रू.१,००,००० सम्मको जरिवाना गराएर उपभोक्ताको हितमा काम गरेको भनेर प्रसंशा भएको थियो ।
वाटर एटीएम हरूको पानीको गुणस्तर परीक्षण गर्न गुणस्तर तथा नापतौल, खाद्य प्रविधि तथा गुण नियन्त्रण, उद्योग निकाय आदिसँग बहु–एजेन्सी टोली बनाएर अनुगमन गर्दा पनि केही सुधारको अनुभुती भएको नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दासले जनाएका छन । जितपुरमा होलि को समयमा बाख्राको मासु लाई खसी बनाएर बेचेको आरोपमा समातिएकालाई राजनितीक दबाबमा छोडाउन प्रजिअ लाई दबाब दिने प्रयास हुदा पनि उनी कति पनि नडगमगाई आफ्नो कदम चालेकोमा उनको प्रसंशा भएको थियो ।
नागरिक समाज बारा अध्यक्ष दासले बारामा रहदा प्रजिअ अधिकारीले जनताको भावना अनुसारको काम गरेकोले बाराले उनलाई सधै सम्झिने बताए ।







