बिश्वास डेस्क
कलैया,भदौ १७
बाराको बिश्रामपुर गाउँपालिकामा भूमि समस्या समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, किसान, समाजसेवी, सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधिसहित जिल्ला भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूले किसान तथा सर्वसाधारणले भोग्दै आएका समस्या तथा त्यसको समाधानका उपायहरूबारे विस्तृत छलफल गरेका थिए ।
सो अवसरमा भूमि समस्या समाधान आयोग बारा जिल्ला सदस्य कलावती पासवानले भूमिहीन, सुकुम्बासी, दलित तथा सीमान्तकृत समुदायका समस्या समाधानका लागि सरकार गम्भीर रुपमा लागेको बताउँदै भूमिको न्यायपूर्ण वितरण र दीर्घकालीन समाधानका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा राखेकि थिइन ।
गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुट्टोले भूमिसम्बन्धी समस्या तत्काल समाधान गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै सर्वसाधारणले आफ्नो वास्तविक समस्या निःसंकोच अघि ल्याउन आग्रह गरेका थिए ।
अन्तरक्रियामा सहभागीहरूले भूमिसम्बन्धी कानुनी व्यवस्था, अधिकार र आगामी कार्ययोजनाबारे सुझाव तथा प्रश्न राखेका थिए ।
गाउपालिका अध्यक्ष भुट्टोको अध्यक्षतामा भएको कार्यक्रममा नापी कार्यालय बारा एवं सदस्य सचिव सुबोध यादव,उपाध्यक्ष प्रियंका देवी ,गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुनिल प्रसाद केशरी तथा सबै वडाका वडा अध्यक्ष , सबै वडाका कर्मचारी, गाउँपालिकाका कर्मचारीहरू लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेकी थियो ।







