बिश्वास सम्बादाता
कलैया, भदौ १७
कलैया उपमहानगरपालिकाको नेतृत्वमा र ललितपुर सानेपास्थित कारखाना समूहको प्रविधिक सहयोगमा नवीनता परियोजना अन्तर्गत दुई दिने सरोकारवालाको बैठक तथा प्रारम्भिक (Kick-off & Showcase) कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम कलैया उपमहानगरपालिकाको सभाहल र श्री ३ चन्द्र माध्यमिक विद्यालय, कलैया–१ मा आयोजना गरिएको थियो। यस कार्यक्रमले STEM शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित) लाई विशेष गरी किशोरी, दलित, जनजाति र सीमान्तकृत समुदायका छात्राहरूका लागि समावेशी शिक्षा र भविष्य निर्माणको आधारका रूपमा अघि सारेको हो।
नेपालमा बढ्दो डिजिटल विभाजनलाई कम गर्दै दलित, जनजाति,
महिला र किशोरीहरूलाई डिजिटल अर्थतन्त्रमा आवश्यक सीप, अवसर र रोजगारी उपलब्ध गराउने यस परियोजनाको मुख्य उद्देश्य रहेको वक्ताहरूले स्पष्ट पारे। कक्षा ६ देखि १२ सम्मका छात्राहरूलाई STEM शिक्षा मार्फत भविष्यका चुनौतीसँग जुध्न सक्षम बनाउनुपर्नेमा सहभागीहरूले जोड दिए।
प्रमुख सरोकारवालाको सहभागिता
कार्यक्रममा नगरप्रमुख बिनोद प्रसाद साह, उप–प्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा महाशाखा प्रमुख, शिक्षा समितिका सदस्य,
४० सामुदायिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, महिला शिक्षक, स्थानीय NGOs, सञ्चारकर्मी, साथै Street Child Nepal र कारखाना समूहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। यसले कार्यक्रमलाई सर्वपक्षीय समर्थन र विश्वास प्रदान गरेको देखियो।
छलफलका मुख्य विषय
बैठकमा STEM शिक्षा र ICT को महत्त्व, विद्यालयस्तरमै STEM क्लब
स्थापना, महिला र किशोरीहरूको सहभागिता वृद्धि, डिजिटल नागरिकता र सुरक्षित इन्टरनेट प्रयोग, कृत्रिम बुद्धिमत्ता (AI) को नैतिक प्रयोग तथा करियर मार्गदर्शनबारे विस्तृत छलफल भयो। साथै, कक्षा ११–१२ का लागि वेबपेज र
ग्राफिक डिजाइन तालिम तथा कक्षा ८–१० का लागि डिजिटल स्टोरी टेलिङ तालिम सञ्चालन गर्ने तयारीबारे आयोजकहरूले जानकारी दिए।
सहकार्य र प्रतिबद्धता
सहभागी सरोकारवालाहरूले विद्यालय, स्थानीय सरकार र समुदायबीच बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए। स्वामित्व विकास, साझेदारी र दीगो प्रयास बिना शैक्षिक सुधार सम्भव नहुने निष्कर्ष निकालियो। नगरस्तरदेखि समुदायसम्मको सहकार्यलाई प्राथमिकतामा राख्दै यस परियोजनाले दीगो
प्रभाव पार्ने विश्वास व्यक्त गरियो।
महत्वपूर्ण सन्देश
वक्ताहरूले STEM शिक्षा र डिजिटल सीप विकासलाई शैक्षिक सुधार र सामाजिक रूपान्तरणसँग जोड्दै, ग्रामीण र सीमान्तकृत क्षेत्रमा रहेका किशोरी र छात्राहरूलाई आत्मनिर्भर, रोजगारीमुखी र सामाजिक नेतृत्वमा सक्षम नाउन सक्ने धारणा राखे। विद्यालय तहमै डिजिटल सीप सिकाइएमा उनीहरू ष्यमा सशक्त नागरिक मात्र नभई सामाजिक रूपान्तरणका अगुवा बन्न सक्नेमा जोड दिइयो।
निष्कर्ष
कलैयामा सम्पन्न दुई दिने सरोकारवालाको बैठक र Kick-off & Showcase कार्यक्रमले STEM शिक्षालाई समावेशी भविष्य निर्माण गर्ने अभियानका रूपमा स्थापित गरेको छ। यस पहलले नेपालमा STEM
शिक्षा र डिजिटल सीपको आधार विस्तार गर्दै युवती र किशोरीहरूलाई
सक्षम, आत्मनिर्भर र प्रविधिमुखी नागरिकका रूपमा तयार पार्ने
अपेक्षा गरिएको छ।
शिक्षक प्रतिनिधि प्रा. अ. बिनोद पासवानले प्रभावकारी नारा प्रस्तुत गर्दै भने:
“हाम्रो कलैया राम्रो कलैया, हाम्रो शिक्षा
राम्रो शिक्षा।”







