साजिर मन्सूर
कलैया,भदौ २३
“साक्षरता सामाजिक रूपान्तरणको आधार” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८२ को अवसरमा आज कलैयामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। साक्षर सामुदायिक सिकाई केंद्र कलैया १ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, सञ्चारकर्मी र समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अन्तरक्रियामा सहभागीहरूले नेपालको साक्षरता अवस्थामाथि समीक्षा गर्दै अझै पनि देशका विभिन्न भूगोल, वर्ग, र समुदायमा साक्षरता अभाव रहेकोतर्फ ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा बोल्दै आसमान नेपालको निशा ठाकुर ले साक्षरता अभिवृद्धिका लागि शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “साक्षरता केवल अक्षर चिन्नु मात्र होइन, यो सोच्न, बुझ्न र निर्णय लिन सक्ने क्षमता विकास गर्ने प्रक्रिया हो।”
सो अवसरमा संस्थाका परिचालक आश्मा प्रविणले डिजिटल युगमा डिजिटल साक्षरताको पनि महत्व बढ्दै गएको चर्चा गर्दै ग्रामीण तथा पिछडिएका क्षेत्रहरूमा पहुँच पु¥याउन सरकार र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताईन।
कार्यक्रमको समापन गर्दै आयोजक संस्था साक्षर सामुदायिक सिकाई केन्द्र का उपाध्यक्ष साहिल हवारीले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै साक्षर नेपाल निर्माणमा सबैको सक्रिय सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।
अन्तमा सहभागीहरूले साक्षरताका क्षेत्रमा अझ प्रभावकारी नीति, योजना र कार्यक्रममार्फत सबै नागरिकसम्म शिक्षाको पहुँच पुर्याउन सरकारलाई आग्रह गरेका थिए।
अन्तरक्रिया कार्यक्रम मा ३० जनाको सहभागीता रहेको थियो ।
त्यस्तै श्री महागढिमाई सामुदायिक सिकाई केंद्रले पनि अन्तरास्ट्रिय साक्षरता दिवसका अवसरमा रैली निकालेर साक्षर समाज निर्माण गर्न जनचेतना जगाएको छ । कलैया १० मटिअर्वा बजारको परिक्रमा गरि रैली सम्पन्न गरिएको संस्थाका अध्यक्ष प्रकाश चौरसियाले जनाएका छन । सो अवसरमा ३० जनाको उपस्थिति रहेको थियो ।







