साजिर मन्सूर
कलैया,असोज १०
प्रादेशिक अस्पताल कलैयामा अहिले सामान्य मानिने औषधि पारासिटामोल र जीवन जल समेत नरहेको समाचार बिश्वास एफएम बाट प्रसारण भएपछी स्वास्थ कार्यालय बाराले प्रादेशिक अस्पताल कलैयालाई विभिन्न औषधि सहयोग गरेको छ ।
पारासिटामोल ४८ हजार गोटा,जीवन जल १२ सय प्याकेट,एमपि स्लिन ५० वटा,पेन्टाफास्ट ट्याबलेट ११२०० गोटा,डेक्स्ट्रोज २५ वटा,सेक्ट्राजोन १ सय पिस,मेटृन्डाजोल ट्याबलेट ८ हजार गोटा अस्पतालको स्टोर सहायक मनोज यादवलाई हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले बिश्वास एफएम लाई जनाएका छन । प्रादेशिक अस्पताल कलैयाका मेसु डा.अजय गुप्ताले अहिले अस्पतालमा यी औषधिको अभाव भएका बेला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको धन्यवाद दिए ।
प्रादेशिक अस्पताल भनिएपनी पछिल्लो समय अस्पतालमा औषधि पाउन बन्द भएपछि सेवाग्राही आक्रोश पोख्दै आएका छन । मधेस प्रदेश सरकारको ढिलासुस्तीले कहिल्यै पनि समयमा औषधि खरिद हुन नसक्दा आम नेपाली जनताले राज्यले निशुल्क दिने भनेको औषधि पनि पाउन सकेका छैनन । प्रादेशिक अस्पतालमा आउने प्राय जस्तो बिरामी औषधि नमिल्दा आक्रोसित हुने गरेका छन । उनिहरुले अस्पतालमा निशुल्क आउने औषधि बाहिर बिचिने गरेको आरोप लगाएका छन । संबंधित निकाय समेत अचेत बन्दा प्रादेशिक अस्पताल झन झन दयनिय बन्दै गएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताएका छन ।







