बिश्वास डेस्क
कलैया,कार्तिक २
नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्ला प्रशासन कार्यालय बाराका प्रजिअ प्रकाश पौडेललाई ज्ञापन पत्र बुझाएको छ । महासंघ बाराका अध्यक्ष रमेश सुबेदिको नेतृत्वमा गएको पत्रकार टोलिले ज्ञापन बुझाएको हो । बारा शाखाका सचिव पुष्प खतिवडा द्वारा हस्ताक्षर गरिएको ज्ञापन सचिव खतिवडा ले पढेर सुनाएका थिए । प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय, सिंहदरवार काठमाण्डौंलाई लेखिएको पत्रमा बोधार्थ गृह मन्त्रालय, सिंहदरवार काठमाण्डौं, सुचना तथा संचार मन्त्रालय, सिंहदरवार काठमाण्डौं र नेपाल पत्रकार महासंघ, केन्द्रिय कार्यालय काठमाण्डौं लाई राखिएको छ ।
पत्रमा भनिएको छ ।
नेपालको संविधान तथा प्रचलित कानुनको भावना र मर्म अनुसार पत्रकारको हकहित, सुरक्षा र स्वतन्त्रताका लागि हामी नेपाल पत्रकार महासंघ, शाखा बारा प्रतिबद्ध छौं। पत्रकारहरूलाई शान्तिपूर्ण वातावरणमा निर्भीक भई कलम चलाउने वातावरण सृजना गर्नु राज्यको दायित्व हो। पत्रकारिताको मर्यादा र संवेदनशीलतालाई ध्यानमा राखेर हामी जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रमुख श्रीमान सन्तोष तामाङका पछिल्ला क्रियाकलापप्रति नेपाल पत्रकार महासंघ, शाखा बाराको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं
प्रहरी प्रमुख तामाङका गतिविधिले जिल्लामा कार्यरत क्रियाशील पत्रकारहरूको मनोबल गिराउने देखिएको हुँदा उहाँका यस्ता कार्यलाई अविलम्ब सच्याउन सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै यो ज्ञापन पत्र प्रस्तुत गरेका छौं।
पछिल्लो समय समग्र प्रहरी प्रशासनको मनोवल उच्च राख्न जिल्लाका पत्रकार तथा नागरिक समाजले महत्त्त्वपूर्ण भूमिका खेलिरहेको सर्वविदितै छ। यस्तो अवस्थामा प्रहरी प्रमुख तामाङले उल्टै पत्रकारका नेता तथा नागरिक समाजका अगुवाहरूलाई सामान्य विषयमा अनावश्यक निगरानीमा राख्ने र प्रताडित गर्ने कार्य गरेको सूचना हामीलाई प्राप्त भएको छ। उहाँमाथि शान्ति सुव्यवस्था कायम गर्नुभन्दा अवाञ्छित कार्यबाट अवैध धन आर्जन गरेको भन्ने प्रशस्त सूचनाहरू सार्वजनिक भएका छन् ।
यस्ता विषयमा प्रश्न गर्ने, समाचार लेख्ने जो कोही पत्रकार माथि दुश्मनी साँध्ने खालको व्यवहार गर्न थालेपछि जिल्लाको शान्ति र सुव्यवस्था उहाँकै कारण बिग्रिने खतरा बढेको छ। उहाँका यस्तै गतिविधिहरूलाई समेटेर केही दिनअघि नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष श्री रमेश सुवेदीले लेख्नुभएको समाचारलाई लिएर अध्यक्ष सुवेदीलाई निगरानीमा राखी मानसिक प्रताडना दिइएको घटनाले हामीलाई दुःखी तुल्याएको छ। सोही कारण ७० औं प्रहरी दिवस विशेष कार्यक्रममा समेत पत्रकारहरूले अनुपस्थित भई सांकेतिक विरोध जनाएका थिए। एकजना पत्रकारले दिएको साधारण जाहेरीलाई आधार बनाई प्रहरी प्रमुख तामाङले अध्यक्ष सुवेदीलाई दुई दिनसम्म मानसिक प्रताडना दिनुको साथै जाहेरीकर्ता भन्दा एक कदम अगाडि बढेर जाहेरीकर्ताकै पक्षमा वकालत गर्नुभएको थियो। प्रहरी प्रमुख र कानुनका पालकको भूमिका निर्वाह गर्न नसकेको भन्दै उहाँको दम्भपूर्ण व्यवहारप्रति हामी सम्पूर्ण सञ्चारकर्मीहरूले आपत्ति जनाएका छौं।
सतहमा सामाजिक सन्जालमा गालीगलौज गरिएको विषय भनिए पनि दशैंको दुई दिनअगाडि प्रहरी प्रमुख तामाङको तस्करसँगको मिलिभगतका विषयमा अध्यक्ष सुवेदी, उपाध्यक्ष पन्नालाल दासले लेख्नुभएको समाचारको बदला लिन उहाँ उद्दत भएको स्पष्ट देखिन्छ। पत्रकारहरू बीचको कुनै पनि समस्या समाधान गर्न नेपाल पत्रकार महासंघ सक्षम रहेको र रहिरहने अवस्थामा प्रहरी प्रमुख तामाङले प्रहरी र पत्रकार बीचको सम्बन्धमा अनावश्यक तिक्तता बढाउने भूमिका खेलिरहनुभएको छ। नागरिक अगुवाहरू लगायत सबै सरोकारवालासँग बदलाभाव बोक्ने यस्ता प्रहरी प्रमुखका विषयमा उपर्युक्त कदम चाल्न हामी श्री प्रमुख जिल्ला अधिकारीज्यू मार्फत श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत सम्बद्ध निकायहरूमा विनम्र
अनुरोध गर्दछौं। पत्रकारिताको मर्यादालाई कायम राख्दै पत्रकारहरूको सुरक्षा र निर्भीक पत्रकारिता गर्ने बातावरणको सुनिश्चितताका लागि पहलकदमी लिइदिनुहुन सम्बन्धित सबै निकायमा अनुरोध गर्दछौं।
सो अवसरमा बाराका ३० जना प्रतिनिधि मुलक पत्रकार सहभागी रहेका थिए ।







